NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७

प्राय सोधिने प्रश्नहरु : पञ्जीकरण

१ . प्रश्न:

व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर:

प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्य हो।

२ . प्रश्न:

व्यक्तिगत घटना किन अनिवार्य दर्ता गराउनुपर्छ ?

उत्तर:

·व्यक्तिको पहिचानको कानूनी आधार भएकाले,

·सेवा प्राप्ती गर्ने कानूनी आधार भएकाले,

·राज्यको नीति निर्माण तथा योजना तर्जुमाकालागि तथ्यांक प्राप्त गर्ने आधार भएकाले ।

३ . प्रश्न:

व्यक्तिगत घटना दर्ता गर्न कसलाई सूचक राख्ने ?

उत्तर:

जन्म दर्ता

बाबु वा आमा

निजहरुको अनुपस्थितीमा परिवारको अठार वर्ष पुगेको व्यक्ति

मृत्यु दर्ता

बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी र निजहरुको अनुपस्थितीमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

विवाह दर्ता

पति पत्नी दुबै

सम्बन्ध विच्छेद दर्ता

सम्बन्ध विच्छेद भएका सम्बन्धित व्यक्ति मध्ये कुनै एक

बसाइँ सराइ दर्ता

परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

४ . प्रश्न:

सबै प्रकारका व्यक्तिगत घटना कहाँ र कहिले दर्ता गराउनु पर्दछ ?

उत्तर:

व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र निःशुल्क वा त्यसपछि बिलम्ब शूल्क तिरी दर्ता गराउन सकिन्छ।

संघ, प्रदेश वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित सस्थाका वहालबाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भएर अन्य व्यक्तिगत घटना दर्ता गर्नुपर्ने भएमा कार्यालयको सिफारिसका आधारमा कार्यालय रहेको स्थानको वडा कार्यालयमा पनि घटना दर्ता गर्न सकिन्छ।

५ . प्रश्न:

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गराउन सकिन्छ वा सकिदैन ?

उत्तर:

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गर्न मिल्दैन। यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडामा गई वडाध्यक्षबाट घटना प्रमाणित गराउन सक्दछन्।

६. प्रश्न:

व्यक्तिगत घटना दर्ता गर्न किन सूचकको नागरिकता आवश्यक पर्दछ ?

उत्तर:

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न सूचक आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको स्पष्ट परिचय, उमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्छ।

७ . प्रश्न:

व्यक्तिगत घटना दर्ताको अभिलेख नभएमा कसरी प्रतिलिपि दिन सकिन्छ ?

उत्तर:

व्यक्तिगत घटना दर्ताको अभिलेख फेला नपरेको वा नष्ट भएको अवस्थामा सो घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्र अन्यत्र कुनै निकायमा रहेमा सो को आधारमा अभिलेख खडा गरी प्रतिलिपि जारी गर्न सकिन्छ । वा सूचना फाराम, प्रमाणपत्र वा अन्य कुनै प्रमाण प्राप्त नभएमा व्यक्तिगत घटना दर्ताको नयाँ सूचना फाराम भर्न लगाई सूचना फाराममा सूचकलाई सनाखत गर्न लगाई सो को आधारमा अभिलेख खडा गरी प्रमाणपत्र जारी गर्न सकिन्छ।

८ . प्रश्न:

व्यक्तिगत घटना दर्ता गराउन स्थानीय तह तथा वडा कार्यालयको दायित्व के रहन्छ ?

उत्तर:

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचना फाराम भर्न लगाउने, आवश्यक कागजपत्र माग गरी रुजु गर्ने, नियमानुसार घटना दर्ता गर्ने, अभिलेख राख्ने तथा प्रमाणपत्र जारी गर्ने दायित्व स्थानीय तह तथा वडा कार्यालयको हुन्छ।स्थानीय तहले घटना दर्ताको महत्व, प्रक्रिया र विलम्ब शुल्कबारे पनि नागरिकलाई जानकारी गराउनु पर्छ।

९ . प्रश्न:

व्यक्तिगत घटना दर्ता गर्ने सूचक वा व्यक्तिको कर्तव्य के रहन्छ ?

उत्तर:

व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईएको विवरण सही रुपमा भर्ने, आवश्यक कागजपत्र पेश गर्ने, ३५ दिनभित्रै घटना दर्ता गराउने र प्राप्त प्रमाणपत्रमा भएका विवरण सही रुपमा जाँच गरेर मात्र प्रमाणपत्र बुझ्ने जस्ता कार्य व्यक्तिको कर्तव्य अन्तर्गत पर्दछन्।

१० . प्रश्न:

झुट्टा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेमा के हुन्छ ?

उत्तर:

कुनै पनि व्यक्तिले झुट्टा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको पाईएमा वा प्रमाणित भएमा ऐनको दफा ४१ बमोजिम सजाय हुन्छ ।

११ . प्रश्न:

नेपालमा रहेका विदेशीहरुले कसरी घटना दर्ता गर्न सक्छन् ?

उत्तर:

नेपालमा रहेका विदेशी नागरिकले नेपालमा घटेका व्यक्तिगत घटना दर्ता गर्नु परेमा राहदानी वा राष्ट्रियता खुल्ने कागजात लगायत व्यक्तिगत घटना दर्ताका लागि आवश्यक अन्य कागज सहित आफू बसोबास गरेको स्थानमा घटना दर्ता गर्न सक्छन् । नेपालमा कुटनीतिक नियोग भएका मुलुकको नागरिक भए त्यस्तो नियोगको सिफारिस समेत आवश्यक पर्दछ ।

१२ . प्रश्न:

कुनै व्यक्तिको घटना दर्ता गर्दा पात्रोमा सो महिनामा नभएको दिन राखि घटना दर्ता भएमा के गर्ने ?

उत्तर:

कुनै व्यक्तिको घटना दर्ता गर्दा पात्रोमा सो महिनामा नभएको दिन राखि घटना दर्ता भएको छ भने उक्त महिनाको अन्तिम दिन राखि प्रतिलिपि जारी गर्न सकिन्छ ।

१३ . प्रश्न:

जन्म दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

उत्तर:

  • आमा वा बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • सूचकको नागरकिता प्रमाणपत्रको प्रतिलिपि,
  • स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
  • घरमा जन्म भएको हकमा खोप कार्ड
  • बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन
  • थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का वा प्रहरी प्रतिवेदन ।
१४ . प्रश्न:

जन्म दर्ता गर्न बाबु आमाको विवाह दर्ता चाहिन्छ कि चाहिदैन ?

उत्तर:

बालबालिकाको जन्म दर्तामा बुबा आमाको विवाह दर्ता अनिवार्य छैन ।

१५ . प्रश्न:

स्वतः वदर हुने विवाहको परिणामबाट जन्मिएका बच्चाको जन्म दर्ता कसरी गर्ने ?

उत्तर:

बदर योग्य र स्वतः बदर हुने विवाहको परिणामबाट बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु दुवैको उपस्थितिमा आधिकारीक सूचकको सूचना अनुसार जन्म दर्ता गराउन सकिन्छ।

१६ . प्रश्न:

एकल महिलाबाट जन्मेको बच्चाको थर र ठेगाना कसरी कायम गर्न सकिन्छ ?

उत्तर:

एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा बच्चा जन्मको बखत कायम रहेको आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न सकिन्छ ।

१७ . प्रश्न:

विवाह अघि बच्चा जन्मिएको एकल महिलाले विवाह गरिसकेको अबस्थामा बच्चाको जन्म दर्तामा ठेगाना कहाँको राख्न सकिन्छ ?

उत्तर:

विवाह अघि बच्चा जन्मिएको एकल महिलाले विवाह गरी बच्चा आमासंगै बसेको अबस्थामा आमाकै ठेगाना राख्ने र बच्चा मावलिमा नै छ भने मावलिको ठेगाना राखि बच्चाको जन्म दर्ता गर्न सकिन्छ ।

१८ . प्रश्न:

बच्चाको बुबाको ठेगान पत्ता नलागेमा जन्म दर्ता कसरी गर्ने ?

उत्तर:

बच्चाको बाबुको ठेगान पत्ता नलागेमा सो सम्बन्धी प्रहरी प्रतिवेदन र अन्य आवश्यक कागजातको आधारमा जन्म दर्ता गराउन सकिन्छ।

१९ . प्रश्न:

आमा वा बुबा विदेशी भएको हकमा जन्म दर्ता कसरी गर्ने ?

उत्तर:

बच्चाको आमा विदेशी भई बुबा नेपाली भएमा आमा विदेशी भएको प्रमाणसहित बच्चाको बुबाको नेपाली नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमा बुबाको विवाह दर्ता भएको वा आमाको समेत नागरिकता भएमा सोही अनुरुप आमा सूचक रहेर पनि जन्म दर्ता गराउन सकिन्छ ।

बच्चाको बाबु विदेशी भएमा विदेशी भएको प्रमाणसहित घटना घटेको स्थानमा बुबा वा आमा सुचक बसेर जन्म दर्ता गर्न सकिन्छ ।

२० . प्रश्न:

अनाथ वा असहाय बालबालिकाको जन्म दर्ता कसरी गर्ने ?

उत्तर:

अनाथ तथा असहाय बालबालिकाको हकमा प्रचलित कानुन बमोजिमको संरक्षक वा माथवरले सूचक बनेर वा त्यस्तो व्यक्ति नभएमा सम्बन्धित वडाको वडाध्यक्ष सूचक बनेर जन्म दर्ता गर्न सकिन्छ।

२१ . प्रश्न:

धर्मपुत्र वा धर्मपुत्री दर्ता कसरी गर्ने ?

उत्तर:

धर्म बाबु वा धर्म आमाले दर्ता गर्न खोजेको अवस्थामा अदालतको निर्णयको प्रतिलिपि समेत संलग्न गरी प्रचलित कानुन बमोजिम धर्म बाबु वा धर्म आमा सूचक भएर दर्ता गर्न सकिन्छ । दुवै जनाले धर्मपुत्र वा धर्मपुत्री राख्न खोजेको हो भने दुवै जना उपस्थित भई नियमानुसार सूचना दिई दर्ता गराउन सकिन्छ।

२२ . प्रश्न:

विदेशमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गराउने ?

उत्तर:

विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट उक्त बच्चा जन्मिएको प्रमाणपत्र प्रमाणित गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गई दर्ता गराउन सकिन्छ ।

२३ . प्रश्न:

कारागारमा जन्मिएको बच्चाको जन्मदर्ता कसरी गर्ने र कस्ता कागजात आवश्यक पर्दछ ?

उत्तर:

प्रचलित कानुन बमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट बच्चा जन्मिएमा आमाले भरेको सूचना फाराम कारागार प्रमुखले प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पठाई सो वडा कार्यालयबाट जन्म दर्ता गराउन सकिन्छ।

२४ . प्रश्न:

दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले बालबालिकाको थरमा बाबु आमाको थर भन्दा फरक थर राखी दर्ता गर्न सकिन्छ कि सकिदैन ?

उत्तर:

दलित बालबालिकाको बाबु आमाको भन्दा फरक थर राखी जन्म दर्ता गर्न आएको खण्डमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएका सम्बन्धित दलित जाति भित्रको थरमध्येबाट सूचना फाराममा उल्लेख गरिए अनुसारको थर राखी जन्म दर्ता गर्न सकिन्छ ।

२५ . प्रश्न:

मृत्यु दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

उत्तर:

  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा), नभएमा परिचय खुल्ने कागजात
  • सूचकको नागरिकता
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशआज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  • स्वास्थ्य सस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण ।

२६ . प्रश्न:

मृत्यु दर्ता किन गर्नुपर्दछ ?

उत्तर:

व्यक्तिको मृत्यु भएको प्रमाण कानुनी र प्रशासनिक प्रयोजनका निम्ति पेश गर्न, चल अचल सम्पत्तिको हक हस्तान्तरण वा अधिकार प्रत्यायोजन लगायतका कार्य गर्न मृत्यु दर्ता गराउनु पर्छ । सामाजिक सुरक्षा भत्ता लिन, विधवा प्रमाणित हुन तथा राज्यबाट प्रदान गरिने अन्य सेवा सुविधा लिन पनि मृत्यु दर्ता गर्नुपर्दछ।

२७ . प्रश्न:

विवाह दर्ता भनेको के हो ?

उत्तर:

विवाह दर्ता भन्नाले प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्बन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नी स्वीकार गरी दर्ता गरिएको घटना दर्तालाई बुझिन्छ।

२८ . प्रश्न:

विवाह दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

उत्तर:

  • दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागजात
  • दुलाहा वा दुलही दुबैको हालै खिचेको अटो साईजको २/२ प्रति फोटो
  • कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा

यदि अदालतबाट नाता कायम भएको फैसला / आदेश भएमा वा अदालतको पत्रबाट विवाह कायम भएमा दर्ता विवाह सरह मान्यता दिइ विवाह दर्ता गर्न सकिन्छ ।

२९ . प्रश्न:

विवाह दर्ताको सूचक को को हुन्छन् ?

उत्तर:

विवाह दर्ता गर्न पति पत्नी दुवै सूचक हुनुपर्छ। यदि दुई मध्ये कुनै एक नेपालमा नभएका कारण वडा कार्यालयमा उपस्थित हुन नसकेको अबस्थामा अनुपस्थित भएको पक्षले आफू रहेको देशको दुतावास मार्फत अधिकृत वारेसनामा दिई विवाह दर्ता गराउन सकिनेछ।

३० . प्रश्न:

पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा कसरी दर्ता गर्ने ?

उत्तर:

पति वा पत्नी मध्ये कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा अदालतबाट नाता कायम भएको फैसला वा आदेशका आधारमा पति वा पत्नी मध्ये एकजना सूचक बसी घटना दर्ता गर्न सकिन्छ ।

३१ . प्रश्न:

विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा के गर्ने ?

उत्तर:

विवाह दर्ता गर्नु पूर्व पति वा पत्नी मध्ये कुनै एकको मृत्यु भैसकेको हकमा विवाह दर्ता प्रमाण पत्र जारी गर्न मिल्दैन। वडा अध्यक्षबाट प्रचलित कानुन अनुसार विवाह प्रमाणित गराउनु पर्दछ ।

३२ . प्रश्न:

बाल विवाह वा बहु विवाह दर्ता किन हुदैन ?

उत्तर:

मुलुकी देवानी संहिता २०७४ अनुसार मिति २०७५ भाद्र १ गते पछिको बाल विवाह र बहु विवाह कानुनतः स्वत बदर हुने भएकाले दर्ता गर्न मिल्दैन । यद्यपि मिति २०७५ भाद्र १ गते भन्दा अगाडिको बाल विवाह र बहु विवाह भएको प्रमाणित भएमा दर्ता गर्न मिल्छ।

३३ . प्रश्न:

नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेमा कसरी विवाह दर्ता गर्ने ?

उत्तर:

नेपाली नागरिकले विदेशी नागरिकसँग विदेशमा विवाह गरेको हकमा विवाह भएको मुलुकको प्रचलित कानुन वमोजिम विवाह भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कुटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भएको प्रमाणिकरण सहित विवाह दर्ता गर्न सकिनेछ ।

नेपाली नागरिकले विदेशी नागरिकसँग नेपालमा विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरेको प्रमाण हेरी महिलाको स्थायी ठेगाना वा वडा कार्यालयमा पति पत्नी दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।

तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिक बिच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिएमा विवाह दर्ता गर्न सकिन्छ ।

३४ . प्रश्न:

एकपटक विवाह दर्ता भैसकेका महिला वा पुरुषको पुनः विवाह दर्ता गर्न मिल्छ कि मिल्दैन ?

उत्तर:

प्रचलित कानुन बमोजिम पति वा पत्नीले अदालतबाट अंशवण्डा गरी भिन्न भएका पुरुष वा महिलाले अदालतले दिएको आदेश सहितको आवश्यक कागजात सहित दोश्रो विवाह दर्ताका लागि निवेदन दिएको अवस्थामा पुनः विवाह दर्ता गर्न सकिन्छ ।

३५ . प्रश्न:

बसाइँ सराइ दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

उत्तर:

जाँदा

  • लगत हस्तान्तरण फाराम
  • बसाइँ सराइ गरेर जाँदा सूचकको नेपाली नागरिकताको प्रमाणपत्र
  • १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता ।
  • परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ ।

आउँदा

  • सरी आएको लगत हस्तान्तरण फारामको सक्कल प्रति
  • बसाइँ सराइ गरेर आउँदा घरमुली वा सूचकको नागरिकता
३६ . प्रश्न:

बसाइँ सराइ दर्ता नगरी बेवास्ता गरेमा के हुन्छ ?

उत्तर:

बसाइँ सराइ दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास गर्ने स्थानमा राज्यबाट दिइने सेवा सुविधाबाट बञ्चित हुन सकिन्छ।

३७ . प्रश्न:

परिवारमा १८ वर्ष उमेर पुगेको एक जना सदस्यको मात्र बसाइँ सराइ गर्न मिल्छ वा मिल्दैन ?

उत्तर:

परिवारमा १८ वर्ष उमेर पुगेको कुनै एक सदस्यको मात्र बसाइँ सराइ गर्न मिल्छ तर सो व्यक्ति र निजको परिवारको सबै सदस्यसँग सम्बन्धित सबै घटना अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं व्यक्ति सूचक हुनुपर्छ।

३८ . प्रश्न:

परिवारका सदस्य मध्येका नाबालकको बसाइँ सराइ गर्न छुटेमा नावालकको बसाइँ सराइ कसरी गर्न सकिन्छ ?

उत्तर:

बसाइँ सराइ दर्ता गर्दा परिवारको सदस्यमध्ये सूचक बस्न योग्य नभएको व्यक्ति (नावालक) छुटेको भएमा एक वर्षभित्र भएमा नियमानुसार संसोधन गर्न र संसोधन गर्ने अबधि समाप्त भएको भए बसाइँ सराइ गएको घरमुलि वा १८ वर्ष उमेर पुगेका परिवारको सदस्य सूचक राखी नयाँ बसाइँ सराइ दर्ता गर्न सकिन्छ ।

३९ . प्रश्न:

सम्बन्ध विच्छेद दर्ता गर्न के कस्ता कागजपत्र आवश्यक पर्दछन्?

उत्तर:

  • सूचकको नागरिकता प्रमाणपत्र,
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
  • विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणलाई कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति
४० . प्रश्न:

सम्बन्ध विच्छेद गरी आमासँग रहेका बच्चाको जन्म दर्ता गर्दा आमाको स्थायी ठेगानामा दर्ता गर्न मिल्छ या मिल्दैन ?

उत्तर:

सम्बन्ध विच्छेद भई आमासँग रहेको बच्चाको जन्म दर्ता आमाको स्थायी ठेगानामा गर्न मिल्छ तर बाबुको स्थायी ठेगानामा जन्म दर्ता नभएको एकिन गर्नुपर्ने हुन्छ।

४१ . प्रश्न:

पत्नी रहेको स्थायी ठेगानामा सम्बन्ध विच्छेद दर्ता गर्न मिल्छ वा मिल्दैन?

उत्तर:

सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ। तर पतिको स्थायी ठेगानाको पञ्जिकाधिकारी कार्यालयमा सम्बन्ध विच्छेद दर्ता नभएको एकिन गर्नुपर्दछ।

नोटः व्यक्तिगत घटना दर्ताको विषयमा थप जानकारी आवश्यक भएमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ तथा नियमावली २०७७ (पहिलो संसोधन) अध्ययन गर्न अनुरोध गर्दछौं।