NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा एकादशी - २६

प्राय सोधिने प्रश्नहरु : सामाजिक सुरक्षा

१ . प्रश्न:
सामाजिक सुरक्षा कार्यक्रम भनेको के हो ?

उत्तर:

निश्चित उमेर समूहका जेष्ठ नागरिक, एकल महिला, आर्थिक रुपले विपन्न, अशक्त र असहाय, अपांगता भएका,

बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने

सम्भावित जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट सञ्चालित गैर

योगदानमुलक कार्यक्रम नै सामाजिक सुरक्षा कार्यक्रम हो ।

२ . प्रश्न:

सामाजिक सुरक्षा कार्यक्रमका योग्य लाभग्राहीहरु को को हुन्छन् र भत्ता दर कति छ ?

उत्तर:

सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ मा उल्लेख भए अनुसार सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लाभग्राही तथा भत्ता दर देहाय अनुसार रहेको छ।

क्र.सं. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम (रु.)
जेष्ठ नागरिक ७० वर्ष उमेर पुगेको ४०००
अन्य जेष्ठ नागरिक
६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरुका नागरिक र देशभरीका दलित नागरिक २६६०
एकल महिला विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका २६६०
विधवा पतिको मृत्यु भएका जुनसुकै उमेरका २६६०
पूर्ण अपाङ्गता भएका
सम्बन्धित निकायबाट क वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु ३९९०
अति अशक्त अपाङ्गता सम्बन्धित निकायबाट ख वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु २१२८
लोपोन्मुख आदिवासी/जनजाति कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया ३९९०
बालबालिका अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५३२

३ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कहिले, कहाँ र कसरी निवेदन दिनुपर्छ ?

उत्तर:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा

कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको

तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।यसरी निवेदन दिएका योग्य लाभग्राहीले निवेदन दिर्इ निवेदक उपर

छानविन भई प्रणालिमा प्रविष्ट भएको अर्को महिनाबाट भत्ता प्राप्त गर्न सक्दछन्।

४ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त हुन के के कागजपत्र पेश गर्नुपर्दछ ?

उत्तर:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्दछः

लाभग्राहीको प्रकार कागजपत्र
ज्येष्ठ नागरिक( ७० वर्ष उमेर पुगेका)
  • नेपाली नागरिकता प्रमाणपत्र
  • तोकिएको ढाँचामा निवेदन
ज्येष्ठ नागरिक दलित र क्षेत्र तोकिएका( ६० वर्ष उमेर पुगेका)
  • नेपाली नागरिकता प्रमाणपत्र
  • तोकिएको ढाँचामा निवेदन
ज्येष्ठ नागरिक एकल महिला
  • नेपाली नागरिकता प्रमाणपत्र
  • न्यायिक पृथकीकरण गरी बसेको हकमा न्यायिक पृथकीकरण भएको कागजात
  • सम्बन्ध विच्छेद भएको हकमा सोको प्रमाणपत्र
  • विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस
विधवा
  • नेपाली नागरिकता प्रमाणपत्र
  • पतिको मृत्यु दर्ताको प्रमाणपत्र
पूर्ण अपाङ्गता भएका नागरिक
  • स्थनीय तहबाट जारी ' क ' वर्गको अपाङ्ग परिचयपत्र ( रातो कार्ड )
  • १६ वर्ष पुगेको हकमा नेपाली नागरिकता प्रमाणपत्र
  • नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र
अति अशक्त अपाङ्ग
  • स्थनीय तहबाट जारी ' ख ' वर्गको अपाङ्ग परिचयपत्र ( निलो कार्ड )
  • १६ वर्ष पुगेको हकमा नेपाली नागरिकता प्रमाणपत्र
  • नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र
लोपोन्मुख जाति
  • नेपाली नागरिकता प्रमाणपत्र
  • सामाजिक सुरक्षा ऐन २०७५ को अनुसूची १ मा व्यवस्था भए अनुसारको जातजाती
बालपोषण भत्ता
  • जन्म दर्ताको प्रमाणपत्र
  • बाबु वा आमाको नागरिकता प्रमाणपत्र
  • बाबु वा आमा नभएमा संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिको नागरिकता

५ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयले के के गर्नुपर्छ ?

उत्तर:

  • निवेदन लिने र दर्ता गर्ने ।
  • निवेदकको आवश्यक कागजात रुजु गर्ने ।
  • प्रणालीमा नाम प्रविष्टी गर्ने ।
  • लगत कट्टा गर्ने ।
  • लाभग्राहीको गुनासो सम्बोधन गर्ने ।
  • भत्ता वितरण अर्थात खातामा गए पश्चात नाम सार्वजनिक गर्नुपर्ने ।
६ . प्रश्न:

बैंक खाता खोल्न व्यक्ति उपस्थित हुनुपर्छ कि पर्दैन ?

उत्तर:

स्थानीय तहले योग्य लाभग्राहीको सूची अनलाईन प्रणालीमार्फत सम्बन्धित बैंकमा पठाएपछि उक्त बैङ्कले

शून्य मौज्दातमा खाता खोली रकम जम्मा गर्छ । तर लाभग्राहीले पहिलो पटक भुक्तानी लिन जाँदा नागरिकता

प्रमाण पत्र, फोटो लगायतका प्रमाण लिई स्वयं उपस्थित भई आफ्नो बैंक खाता सक्रिय गराउनुपर्छ ।

७ . प्रश्न:

बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता रकम तत्काल निकाल्नु पर्छ ?

उत्तर:

लाभग्राहीले आफ्नो बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता रकम आफ्नो अनुकूल समयमा निकाल्न

सक्दछन् । बैंक खातामा जम्मा भएको रकममा अन्य बचत खाता सरह ब्याज समेत प्राप्त हुन्छ।एक आर्थिक

बर्षमा एकपटक पनि कारोबार नभएमा सम्बन्धित स्थानीय तह र बैंकले खातावालाको अवस्था यकिन गर्नुपर्ने

हुन्छ ।

८ . प्रश्न:

बैंकमा जम्मा भएको रकम जुन बैंकमा खाता छ त्यहिबाट मात्र झिक्न मिल्छ कि अरु शाखाबाट पनि

झिक्न मिल्छ ?

उत्तर:

बैंकमा जम्मा भएको सामाजिक सुरक्षा भत्ता अन्य बचत जस्तै चेक बुक तथा एटिएम मार्फत बैंकको जुनसुकै

शाखाबाट झिक्न सकिन्छ ।

९ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि बैंकबाट के कस्ता सुविधा प्राप्त हुन्छ?

उत्तर:

लाभग्राहीको खाता रहेको बैंकले सम्बन्धित खातावालालाई नियमानुसार चेक, एटिएम, मोबाइल बैंकिङ्ग तथा

एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्छ।

१० . प्रश्न:

पूर्ण अपाङ्गता तथा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकले बैंक खाता मार्फत कसरी सामाजिक

सुरक्षा भत्ता प्राप्त गर्न सक्छन् ?

उत्तर:

९० वर्ष माथिका जेष्ठ नागरिक, पूर्ण अपाङ्ग भएका व्यक्ति, आफ्नो हेरचाह आफै गर्न नसक्ने लाभग्राहीको हकमा

संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिन सक्ने व्यवस्था छ।लाभग्राहीको अनुरोधमा

संरक्षकको संयुक्त दस्तखतबाट संयुक्त खाता सञ्चालन गर्न र सो पनि सम्भव नभएका लाभग्राहीको हकमा

संरक्षकको दस्तखतबाट मात्र पनि खाता सञ्चालन गरी भत्ता प्राप्त गर्न सकिन्छ ।

११ . प्रश्न:

लाभग्राहीको खातामा रकम जम्मा गरेपश्चात बाँकी भएको रकम नेपाल सरकारलाई फिर्ता गर्दा सम्बन्धित

बैंकले ब्याज सहित फिर्ता गर्नुपर्छ कि पर्दैन?

उत्तर:

बैकले लाभग्राहीको खातामा रकम जम्मा गरेपश्चात बाँकी भएको रकम व्याज सहित नेपाल सरकारको सञ्चित

कोषमा फिर्ता गर्नुपर्छ।

१२ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता वितरण बारे स्थानीय तह र बैंक शाखावीच समन्वय तथा सहजीकरण गर्नु परेमा

कसरी गर्न सकिन्छ?

उत्तर:

सामाजिक सुरक्षा भत्ता वितरणका लागि स्थानीय तह बैंकिङ्ग समस्या तथा समाधान समिति मार्फत

सहजीकरण गर्न सकिन्छ।उक्त निकायबाट पनि समाधान हुन नसकेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण

विभागबाट सहजीकरण हुन्छ।

१३ . प्रश्न:

Forward Feed र Reverse Feed भनेको के हो?

उत्तर:

स्थानीय तहले तयार गरेको भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचि Forward Feed हो।उक्त सूचिको आधारमा बैंकले

सम्बन्धित व्यक्तिका नाममा जम्मा गरेको बैंक खाता सहितको सूचि Reverse Feed हो।

१४ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न उमेरको गणना कसरी गर्ने ?

उत्तर:

बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्र र अन्य योग्य लाभग्राहीको हकमा नागरिकता प्रमाणपत्रमा

उल्लेखित उमेरलाई आधार मानिन्छ।नागरिकता प्रमाणपत्रमा जन्मिएको साल र महिना खुलेको तर गते

नखुलेको भएमा उल्लेखित महिनाको मसान्त र साल मात्र उल्लेख भएको हकमा नागरिकता जारी मितिलाई

आधार मानिन्छ ।

१५ . प्रश्न:

४० वर्ष उमेर पुगेका एकल महिलाले भत्ता पाउँछन् ?

उत्तर:

सामाजिक सुरक्षा (पहिलो संसोधन) ऐन, २०७९ अनुसार असहाय एक महिला भत्ताको व्यवस्था गरेको छ ।

जसमा विधवा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेकोभन्दा न्यून आय भएका र पालन

पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपले विपन्न

अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालन पोषण नगरेका अन्य एकल महिलाले मात्र यस्तो भत्ता पाउछन् ।

तर यो सूचना नेपाल राजपत्रमा प्रकाशन हुनुपर्ने व्यवस्था छ। हाल उक्त सूचना प्रकाशन नभएकोले ४० वर्ष

उमेर पुगेका एकल महिलाले भत्ता पाउने अवस्था छैन।

१६ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र कहिलेसम्म नवीकरण

गराईसक्नुपर्छ ?

उत्तर:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण र भाद्र महिना मसान्त भित्रमा सम्बन्धित वडा

कार्यालयमा आफै उपस्थिति भई आफ्नो परिचयपत्र नविकरण गर्नुपर्दछ।

१७ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आफ्नो नाम/परिचयपत्र तोकिएको समयमा नविकरण गर्न

छुटेमा के गर्नुपर्छ ?

उत्तर:

नवीकरण गर्न छुटेका लागभ्राहीले पूनः सम्बन्धित वडा कार्यालयमा गई नयाँ लाभग्राही सरह नाम दर्ता

गराउनुपर्छ।यसरी प्राप्त निवेदनका आधारमा विभागको अनलाईन प्रणालीमा प्रविष्ट गरेपछि अर्को महिनाबाट

भत्ता प्राप्त गर्न सकिन्छ।तोकिएको अवधिमा नवीकरण नभएमा उक्त अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त

हुदैन ।

१८ . प्रश्न:

एक व्यक्तिले एक भन्दा बढी लक्षित समूहबाट भत्ता प्राप्त गर्न मिल्छ वा मिल्दैन ?

उत्तर:

एक भन्दा बढी लक्षित समूहमा योग्य हुने लाभग्राहीले निजले रोजेको कुनै एक समूहबाट मात्र भत्ता प्राप्त गर्न

सक्छन्। दोहोरो सामाजिक सुरक्षा भत्ता प्राप्त वा उपलव्ध गराउन मिल्दैन ।

१९ . प्रश्न:

कुनै व्यक्तिले दोहोरो सामाजिक सुरक्षा भत्ता बुझेमा के कारवाही हुन्छ ?

उत्तर:

कुनै व्यक्तिले दोहोरो भत्ता बुझेमा त्यस्ता व्यक्तिको नाम अभिलेखबाट तत्काल हटाई प्रचलित कानून बमोजिम

कारवाही गरी बुझेको भत्ता रकम सरकारी बाँकी सरह असुल उपर गरी विगो बमोजिम जरिवाना समेत हुन्छ ।

२० . प्रश्न:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न स्थायी बसोबास भन्दा अन्यत्र नाम दर्ता गर्न मिल्छ कि मिल्दैन?

उत्तर:

योग्य लाभग्राहीले स्थायी बसोबास गरेको वडा कार्यालयमा मात्र नाम दर्ता गराउन मिल्छ ।

२१ . प्रश्न:

भत्ता प्राप्त गर्ने व्यक्ति बसाइ सराइ गरी गएमा के हुन्छ ?

उत्तर:

लाभग्राहीले बसाईसराई गरेपछि अब बसोबास गर्ने स्थानीय तहको वडा कार्यालयमा बसाईसराई प्रमाणपत्र

तथा भत्ता प्राप्त गरेको विवरण तथा लगत कट्टाको विवरण उपलब्ध गराउनु पर्दछ।सोही को आधारमा सरी जाने

ठाँउबाट नियमित भत्ता प्राप्त हुन्छ ।

२२ . प्रश्न:

सामाजिक सुरक्षा भत्ताको लाभग्राही सूचीबाट कुन कुन अवस्थामा लगत कट्टा हुन्छ ?

उत्तर:

  • लाभग्राहीको मृत्यु भएमा,
  • बालबालिकाको हकमा ५ बर्ष उमेर पुरा भएमा,
  • बसाइँ सराइ गरेमा,
  • एकल वा विधवा महिलाले विवाह गरेमा,
  • दोहोरो दर्ता कायम भएमा,
  • कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनित भई बहाल रहेको व्यक्ति, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको वा आंशिक स्वामित्व भएको संगठित संस्थाबाट नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेको भएमा
  • परिचयपत्र नवीकरण नगरेमा,
  • सामाजिक सुरक्षा भत्ता स्वेच्छाले त्याग गर्न चाहेमा,
२३ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता स्वेच्छाले लिन नचाहेमा के हुन्छ ?

उत्तर:

योग्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता त्याग गर्न चाहेमा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तत्पश्चात वडा कार्यालयले निजलाई लाभग्राहीको सूचिबाट लगत कट्टा गरी सो को विवरण सम्बन्धित स्थानीय

तहमा जानकारी दिने र स्थानीय तहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जानकारी गराउनु पर्ने

हुन्छ।स्थानीय तह/पालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले त्यस्ता व्यक्तिलाई सम्मान गरी

प्रमाणपत्र उपलब्ध गराउछ ।

२४ . प्रश्न:

एकल महिला तथा विधवा महिलाले विवाह गरेको जानकारी प्राप्त भएको तर विवाह दर्ता नभएको

अवस्थामा लगत कट्टा गर्न मिल्छ कि मिल्दैन?

उत्तर:

स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा अन्य कुनै विश्वासनीय स्रोतबाट विधावा महिलाले विवाह गरेको

जानकारी प्राप्त भएमा सर्जमिन मुचुल्का वा विवाह गरि गएको सम्बन्धित स्थानीय तहको जानकारी पत्र

लगायतबाट विवरण यकिन गरी विवाह गरेको पुष्ट्याई भएमा लगतकट्टा गर्नुपर्दछ।

२५ . प्रश्न:

गैरदलितसँग मिल्दो थर भएका दलित जातिका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन मिल्छ?

उत्तर:

दलित जाति अन्तर्गत प्रदान गरिने सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको सूचिकरण गर्दा राष्ट्रिय दलित

आयोगले प्रकाशन गरेको जातीय अनुसूची बमोजिमको जाति तथा थर अनुसार गर्नुपर्छ।उक्त अनुसूचीमा

उल्लिखित थर बाहेक अन्य थर उल्लेख भएका दलित जातिका व्यक्तिहरुको हकमा जिल्ला प्रशासन कार्यालयले

गरेको सिफारिसको आधारमा हुनेछ।

२६ . प्रश्न:

लोपोन्मुख जाति र दलित जातिका महिलाले अन्य जातिसँग विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्रदान

गर्न मिल्छ?

उत्तर:

नागरिकता प्रमाणपत्रमा सम्बन्धित जाति/थर उल्लेख भएमा सामाजिक सुरक्षा भत्ता दिन मिल्छ।

२७ . प्रश्न:

निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको मृत्यु भई निजको हकवालाको नाममा नामसारी हुदाँ हकवालाले प्राप्त

गरिरहेको सामाजिक सुरक्षा भत्ता के हुन्छ ?

उत्तर:

यस्तो अवस्थामा निवृतभरण वा सामाजिक सुरक्षा मध्ये एक रोज्नुपर्ने हुन्छ । निवृतभरण रोजेमा निजले पाउने

सामाजिक सुरक्षा भत्ता कट्टा हुन्छ ।

२८ . प्रश्न:

नवीकरण गर्ने अवधिमा नवीकरण नहुदै लाभग्राहीको मृत्यू भएमा निजको हकवालालाई सामाजिक सुरक्षा

भत्ता भुक्तानी दिन मिल्छ कि मिल्दैन?

उत्तर:

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको लाभग्राही सूचीबाट लगत कट्टा गरी खातामा बाँकी रहेको रकम

खाता बन्द गराई नेपाल सरकारको सञ्चित कोषमा दाखिला/फिर्ता गर्नुपर्छ।

२९ . प्रश्न:

सामाजिक सुरक्षा भत्ता सम्बन्धी गुनासो कहाँ दर्ता गर्न सकिन्छ ?

उत्तर:

सामाजिक सुरक्षा भत्ता सम्बन्धी गुनासो सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा राष्ट्रिय परिचयपत्र तथा

पञ्जीकरण विभागमा वा अन्य सम्बन्धित सरकारी निकायमा गुनासो दर्ता गर्न सकिन्छ।

३० . प्रश्न:

सामाजिक सुरक्षा भत्ता सम्बन्धी कसूर तथा सजायको कारवाही किनारा कसले गर्छ ?

उत्तर:

विवरण ढाँटी सामाजिक सुरक्षा भत्ता लिएमा, ऐन तथा नियम विपरित सामाजिक सुरक्षा भत्ता लिएमा, संरक्षक

माथवर तथा स्यहारसुसार गर्नेले भत्ता दुरुपयोग गरिदिएमा, गलत विववरण पेश गरेमा स्थानीय तहको

न्यायिक समितिले कानून अनुसार कारवाही गर्छ।सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अधिकारीले भत्ताको

दुरुपयोग गरेमा प्रचलित कानून अनुसार कारवाही हुन्छ।